गण्डकी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय

पोखरा, नेपाल

forest logo

पोखरामा जलवायु सुशासन र समन्वय सम्बन्धी एकदिने गोष्ठी सम्पन्न



जलवायु परिवर्तनका चुनौतीहरू सम्बोधन, स्थानीय तथा प्रदेशस्तरमा जलवायु सुशासन सुदृढीकरण र नीतिगत एवम् संस्थागत समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यका साथ आज पोखरामा आयोजित एकदिने गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ। Climate Adapt र Subnational Governance Program (SNGP) को संयुक्त सहकार्यमा आयोजित उक्त गोष्ठी गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री माननीय नम्डु गुरुङ ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जलवायु परिवर्तनसम्बन्धी विविध पक्षहरूमा गहन छलफल तथा अन्तरक्रिया गरिएको थियो।गोष्ठीका क्रममा जलवायु सुशासन सम्बन्धी विगतका तथा हाल जारी अध्ययनका निष्कर्षहरू प्रस्तुत गरिनुका साथै स्थानीय तहका जलवायु कार्ययोजना, प्रदेशस्तरीय जलवायु नीति, संस्थागत व्यवस्थापन, अन्तरनिकाय समन्वय, वित्तीय स्रोतको परिचालन, कार्यान्वयनको विद्यमान अवस्था र लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) लगायतका महत्त्वपूर्ण विषयहरूमा विस्तृत छलफल भएको थियो।यसैगरी, प्रदेश तथा स्थानीय तहमा तुरुन्त सम्बोधन गर्नुपर्ने जलवायु परिवर्तनका प्रमुख सवालहरूको पहिचान, स्थानीय तहसँगको सहकार्यमा समाधान गर्नुपर्ने प्राथमिकता प्राप्त विषयहरू र सङ्घीय तहमा नीतिगत संवादका लागि अघि बढाउनुपर्ने मुख्य बुँदाहरूमा सहभागीहरूबीच व्यापक विचार आदानप्रदान भएको थियो।गण्डकी प्रदेश जलवायु परिवर्तनका प्रभावका दृष्टिले उच्च जोखिमयुक्त र संवेदनशील क्षेत्र रहेकाले यसका असर न्यूनीकरण, अनुकूलन क्षमता अभिवृद्धि, दिगो विकास तथा वातावरणीय सन्तुलन कायम गर्न तीनै तहका सरकारबीच प्रभावकारी समन्वय, सहकार्य र स्पष्ट नीतिगत कार्यदिशा आवश्यक रहेको कुरा कार्यक्रममा जोड दिइएको थियो।कार्यक्रमका प्रमुख अतिथि मन्त्री गुरुङले प्रदेश सरकार जलवायु उत्थानशील विकास, वातावरण संरक्षण र दिगो प्राकृतिक स्रोत व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै सम्पूर्ण सरोकारवाला निकायहरूसँगको सहकार्यमा प्रभावकारी नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको व्यक्त गर्नुभयो।

 

 

     

 

Download: पोखरामा जलवायु सुशासन र समन्वय सम्बन्धी एकदिने गोष्ठी सम्पन्न