मन्त्री पाण्डे र फ्रान्सेली राजदूतको उपस्थितिमा पोखरामा हिरक जयन्ती समारोह
नेपाल पर्वतारोहण संघको आयोजनामा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, पोखरा–१७ रातोपैरोमा अन्नपूर्ण हिमालको पहिलो सफल आरोहणको ७५औं वार्षिकोत्सव (हिरक जयन्ती) को विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। उक्त ऐतिहासिक अवसरमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेल र नेपालका लागि फ्रान्सका राजदूत विशिष्ट अतिथि हुनुहुन्थ्यो।कार्यक्रमको मुख्य आकर्षणका रूपमा अन्नपूर्ण हिमालका प्रथम आरोहीहरू—मौरिस हर्जोग, वालुङ सोनाम शेर्पा र आङथार्के शेर्पा—को सम्मानमा तयार पारिएको स्मारक शालिक अनावरण गरियो। फ्रान्सेली राजदूतावासको सहकार्यमा ऐतिहासिक फोटो प्रदर्शनी आयोजना गरिएको थियो।कार्यक्रमको विशेष क्षणमा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगले अन्नपूर्ण आरोहणका क्रममा प्रयोग गर्नुभएको ऐतिहासिक "Ice-Axe" संग्रहालयमा हस्तान्तरण गरिएको छ। यो ऐतिहासिक उपकरण अब नेपालको पर्वतारोहण इतिहासको अमूल्य सम्पदाका रूपमा संरक्षित हुनेछ।१९५० साल जुन ३ मा फ्रान्सेली अभियान दलले अन्नपूर्ण I (८,०९१ मिटर) मा सफल आरोहण गरेको थियो, जुन विश्वको पहिलो ८,००० मिटरभन्दा अग्लो हिमशिखरको सफल आरोहण थियो। यो उपलब्धिले विश्व पर्वतारोहणको इतिहासमा नयाँ अध्याय थपेको थियो।
Download: मन्त्री पाण्डे र फ्रान्सेली राजदूतको उपस्थितिमा पोखरामा हिरक जयन्ती समारोह