आ.व. २०८१/०८२ को वार्षिक प्रगति समीक्षा गोष्ठी, वन निर्देशनालय,पोखरा
गण्डकी प्रदेश सरकार अन्तर्गतको वन तथा वातावरण मन्त्रालयको वन निर्देशनालयद्वारा आ.व. २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठी माननीय वन तथा वातावरण मन्त्री श्री भेष बहादुर पौडेलज्यूको प्रमुख आतिथ्यतामा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा सम्बोधन गर्दै मन्त्रीज्यूले गत वर्ष सम्पन्न प्रगति समीक्षा गोष्ठीको सफलतापूर्वक स्मरण गर्दै चालु आ.व. मा उल्लेखनीय उपलब्धिहरू हासिल भएको जानकारी दिनुभयो। उहाँले विशेषतः राजस्व सङ्कलनमा ३०० प्रतिशतले वृद्धि भएको र बन्यजन्तुजन्य पीडित तर राहतविहीन अवस्थामा रहेका व्यक्तिहरूलाई राहत उपलब्ध गराउन सकिएको तथ्यलाई महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो। उहाँले विगतमा व्यक्त गर्नुभएको प्रतिबद्धता “तपाईंहरूले काम देखाउनुहोस्, बजेट वृद्धि गर्ने जिम्मा मेरो हुनेछ” अनुरूप बजेटमा वृद्धि भएको र मन्त्रालयप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको उल्लेख गर्नुभयो। मन्त्रीज्यूका अनुसार पुनःसंरचना प्रक्रियालाई समयानुकूल बनाउँदै कर्मचारीको निरन्तर क्षमता अभिवृद्धि र मनोबल उच्च राख्दा मात्र समृद्ध प्रदेश निर्माण सम्भव हुनेछ। उहाँले थप भन्नुभयो कि, वार्षिक रूपमा तोकिएका जिम्मेवारी र प्राप्त उपलब्धिको आत्ममूल्यांकनका आधारमा मन्त्रालयले आगामी कदम तय गर्ने सरकारको स्पष्ट धारणा रहेको छ। कर्मचारीहरूलाई सम्बोधन गर्दै मन्त्रीज्यूले भन्नुभयो– “तपाईंहरूले आफ्नो जिम्मेवारी सम्हाल्दा जस्तै, परिवारको आवश्यकतालाई सम्बोधन गर्दै सुखी परिवार निर्माण गर्नुभएको छ, त्यसरी नै प्रदेश सरकारलाई दीर्घकालीन विकासतर्फ उन्मुख गराउन तपाईंहरूको भूमिका अपरिहार्य छ। उपलब्ध स्रोत र साधनहरूको अधिकतम सदुपयोग गर्नुपर्छ। काठ काट्ने मात्र होइन, त्यसमा गुणस्तर थप्ने ढंगले काम गर्न आवश्यक छ।” वन संरक्षणसँगै त्यसलाई बालीझैं व्यवसायिक दृष्टिकोणले विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै मन्त्रीज्यूले भन्नुभयो– “देश र समाजको समृद्धिका लागि प्रणालीगत विकासको अवसर तपाईंहरूसँग छ। यहाँको समुदाय प्रत्यक्ष लाभान्वित हुने गरी आफ्नो क्षमता र सिर्जनशीलता प्रदर्शन गर्नुहोस्।”



Download: आ.व. २०८१/०८२ को वार्षिक प्रगति समीक्षा गोष्ठी, वन निर्देशनालय,पोखरा
